
काठमाडौँ । झण्डै २ महिनाअघि पुस १३ गते भएको बालकुमारी घटनामा प्रहरीको गोली प्रहारबाट दुई युवाको मृत्यु भएको थियो । घटना लगत्तै सरकारले छानबिन आयोग गठन भयो । आयोगले ४४ दिनपछि फागुन ४ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझायो । घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको कमजोरी रहेको प्रतिवेदनले औंल्याएको छ । त्यसको दुई दिनपछि संसदमा बोल्दै प्रधानमन्त्रीले दोषीलाई तत्काल कारबाही गरिने बताएका थिए । न त मन्त्री ज्वाला आफैले नैतिकता प्रदर्शन गरेका छन् ।
गत पुस १३ गते इपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर युवाहरुले ललितपुरको बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यहीबेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला झण्डावाल गाडी लिएर युवाहरुको प्रदर्शन चर्किरहेकै ठाउँमा पुगे । आक्रोशित युवाहरुले मन्त्रीलाई ओरालेर दुब्र्यहार मात्रै गरेनन्, मन्त्री सवार गाडी लगाइदिए । तत्काल प्रहरीले गोली चलाउँदा अछाम चौरपार्टी गाउँपालिका १ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका ६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भयो ।
प्रहरीले अनावश्यक बल प्रयोग गर्दा दुई युवाको ज्यान गएको भन्दै सरकारविरुद्ध आक्रोश चुलिएपछि उच्च अदालतका पूर्व न्यायाधीस शेखर प्रसाद पौडेल नेतृत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई सदस्य रहने गरी ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । एक महिनाको समयाअवधि पाएको आयोगले अरु १५ दिन लगाएर तयार पारेको प्रतिवेदन फाल्गुन ४ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको थियो । उक्त घटनामा मन्त्री ज्वालाको कमजोरी रहेको आयोगले औंल्याएको छ । फागुन ६ गते संसदमा उपस्थित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोषीलाई आजै कारबाही गर्ने भनी प्रतिवद्धता जनाएका थिए ।
संसदकै रोष्टममा उभिएर प्रतिवद्धता जनाए पनि सोही दिन बसेको मन्त्रिपरिषद् वैठक प्रतिवेदन अध्ययन गर्नुपर्ने भन्दै पन्छियो । चौतर्फी आलोचना भइरहँदा फागुन ६ गते नै मन्त्री ज्वालाको पार्टी नेकपा एकीकृत समाजवादीको बैठक बसेको थियो । पार्टीले नै ज्वालालाई सरकारबाट फिर्ता बोलाउन सक्ने अपेक्षा थियो । तर पार्टीले पनि बेवास्ता ग¥यो भने मन्त्री ज्वालाले पनि आफ्नो नैतिकता देखाएनन् । मन्त्री ज्वालाको राजीनामा माग गर्दै प्रमुख विपक्षी दल एमालेसहित विपक्षी दलहरुले संसदमा आवाज उठाइरहेका छन् । विहीबारको प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद रोशन कार्कीले त संसदलाई नै ढाटेको भन्दै प्रचण्डलाई फटाहा प्रधानमन्त्री संज्ञा दिइन्, जसको सांसदहरुले नियमापति नै जनाउन पुगे । अन्य सांसदहरुले पनि प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरुको नैतिकताको सवाल उठाएका छन् ।
बालकुमारी घटनाको विरोध गर्दै विभिन्न राजनीतिक दल सम्बद्ध युवाहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । त्यसैको विरोधमा मोहन वैद्य निकट युवा संगठनले सिंहदरबारभित्रै प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गरेका थिए । निरन्तर आन्दोलनमा रहेका एमाले निकट विद्यार्थी संगठनले विहीबार मन्त्री ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेका छन् । प्रतिनिधिसभको विहीबारको बैठकमा बालकुमारी घटनाबारे जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ समेत गरेका छन् । विपक्षी दलहरुले सरकार विरुद्ध विभिन्न आन्दोलन चर्काउने जायज नै होला । तर कतिपय विषयमा आफ्नो कमजोरी स्वीकार गर्दै मन्त्री स्वयम्ले पनि नैतिकता प्रदर्शन गर्न जरुरी छ ।