
काठमाडौँ । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । पहिचानवादी आन्दोलन शासकीय षडयन्त्रको सिकार भई अधुरो भएकाले उक्त अभियान घोषणा गरेको उनले बताएका छन् । तर, क्रान्ति घोषणा गरिरहँदा उनलाई पार्टीकै नेताकार्यकर्ताले साथ दिएका छैनन् । एक्लिएका राजेन्द्रको नयाँ राजनीतिक शक्तिको खोजीले कति सार्थकता पाउला ?
पछिल्लो समय नेपाली राजनीतिमा पार्टी फुटाउने र नयाँ पार्टी खोल्न प्रवृत्ति भेलजस्तो देखिन्छ । शासन व्यवस्था र त्यसको अन्त्यसँगै राजनीतिक नयाँ दलको उदय हुने गरेको पाइन्छ । २००७ सालमा राणाविरुद्धको क्रान्तिसँगै नेपाली कांग्रेस, बहुदलपछि नेकपा एमाले र ०६२–०६३ को आन्दोलनबाट नेकपा माओवादी उदाएका थिए । पटकपटक व्यवस्था फेरिने तर अवस्था नफेरिने भएपछि अहिले हालीमुहाली गरिरहेका तीन ठूला राजनीतिक दलविरुद्ध पनि नयाँ पार्टी खुल्ने क्रम जारी छ । जसलाई जनताले अनुमोदन गरेको पनि पाइन्छ ।
२०७९ को संसदीय निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डाक्टर सिके राउत नेतृत्वको जनमत र नागरिक उन्मुक्ति पार्टीको उदय भयो । रास्वपालाई देशको वैकल्पिक राजनीतिक शक्तिको रूपमा लिइएको छ भने जनमतलाई मधेसको वैकल्पिक शक्तिको रूपमा लिइएको छ । जनमतलाई मधेसको वैकल्पिक शक्तिको रूपमा लिइरहँदा मधेसकै अर्का नेता राजेन्द्र महतो पनि नयाँ राजनीतिक शक्तिको खोजीमा लागेका छन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान चलाउने घोषणा नै गरिसकेका छन् ।
पहिचानवादीहरू एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षडयन्त्रको सिकार भई अधुरो भएको उनको ठहर छ । हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र समृद्धि चाहनेहरू सबै संयुक्त रूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान गरेको राजेन्द्रले बताएका छन् ।
तर, नयाँ राजनीतिक शक्तिको खोजीमा लागेका राजेन्द्र भने एक्लै परेका छन् । ‘राष्ट्रिय मुक्ति क्रान्ति’ घोषणा गरिरहँदा उनलाई पार्टीकै नेताकार्यकर्ताले पनि साथ दिएका छैनन् । उनलाई आदिवासी जनजातिको अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानले साथ दिएका छन् । पार्टी एकीकरण गर्न र फुटाउन खपिस राजेन्द्र दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर लोसपा आएका थिए । एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्रलाई नै लागेको थियो । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेताहरू उपेन्द्रको पक्षमा लागेका थिए, ती सबै राजेन्द्र पक्ष अर्थात् पूर्व सद्भावना पार्टीका थिए ।
महन्थ पक्ष अर्थात् पूर्व तमलोपाका भने कोही पनि यताउति भएका थिएनन् । २०७५ सालमा ६ वटा पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएको थियो । ती छ वटा दलमध्ये राजेन्द्र नेतृत्वको सद्भावना पार्टी पनि एक हो । राजपामा राजेन्द्र जहिले पनि बहुमतमा हुन्थे । सांसददेखि लिएर केन्द्रीय कमिटी लगायतमा राजेन्द्रकै बहुमत हुन्थ्यो ।
जसपा बनिसकेपछि पनि राजेन्द्रले पार्टीमा आफ्नो पूर्व समूहको प्रभाव देखाएका थिए । तर, भारतनिकट राजेन्द्रसँग राजनीतिक मुद्दा केही नभएको भन्दै उनकै समूहको नेता–कार्यकर्ता पनि उपेन्द्रकै पक्षमा लागेका थिए । जसपा फुटाउँदा खासखास नेता तथा सांसद समेत साथ नदिएपछि राजेन्द्र लोसपामा निकै कमजोर बनेका थिए । अब, एक्लिएका राजेन्द्रको नयाँ राजनीतिक शक्तिको खोजीले कति सार्थकता पाउँछ, त्यो भने हेर्न बाँकी छ ।