News 24 Television
रास्वपामा चल्यो कारबाहीको डण्डा, कर्णाली प्रदेश कमिटी नै विघटन
Raswapa-ma-lafada-100

काठमाडौँ । गत आम निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएको हौसिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनमा देशकै पहिलो पार्टी बन्ने योजनाका साथ संगठन विस्तारमा लागेको छ । तर संगठन विस्तारमा लागेको रास्वपाको विभिन्न प्रदेशहरुमा लफडा देखिएको छ । विभिन्न आरोप लगाउँदै प्रदेशस्तरका नेता कार्यकर्तालाई कारबाहीको डण्डा चलाउन थालिएको छ ।

देशब्यापी संगठन विस्तार अभियानमा लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन महिनाअघिदेखि वडा अधिवेशन गर्दै आएको छ । देशब्यापी रुपमा एकै साथ वडा अधिवेशन शुरु गरेको रास्वपामा यतिबेला विभिन्न प्रदेशहरुमा किचलो देखिएको छ । प्रदेश कमिटिहरुमा किचलो देखिएपछि पार्टी केन्द्रले प्रदेश कमिटी नै विघटन गर्नेदेखि पदाधिकारीमाथि कारबाही थालेको छ ।

रास्वपा केन्द्रीय समितिले कर्णाली प्रदेश कमिटी नै विघटन गर्नुका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाएको छ । कोशीका महामन्त्री लालविक्रम थापा, गण्डकीका अशोक खड्का र सूदूरपश्चिमका महामन्त्री भोजराज जोशीलाई जिम्मेवारीमुक्त गरिएको छ ।

रास्वपाले कोशीका महामन्त्री थापालाई अनियमितताको आरोप लगाएको छ भने गण्डकीका महामन्त्री खड्का र सुदूरपश्चिमका महामन्त्री जोशीको कार्यक्षमता कमजोर भएको आरोप छ । कोशीका महामन्त्री थापा गत आम निर्वाचनमा सुनसरी जिल्लाको क्षेत्र नम्बर २ मा रास्वपाबाट प्रत्यक्षतर्फको उम्मेदवार थिए । एमालेका भीमप्रसाद आचार्यलाई टक्कर दिएका उनले १९ हजार ३ सय ९१ मत ल्याउँदै तेस्रो भएका थिए ।

यस्तै, तीन वर्षअघिसम्म नेकपा एमालेको युवा संघमा आवद्ध रहेका अशोक खड्का रास्वपा स्थापनासँगै पार्टी प्रवेश गरेका थिए । उपनिर्वाचनमा तनहुँमा खटिएका उनी त्यसयता गाउँ गाउँमा संगठन विस्तारमा थिए । पोखरामा पानी उद्योग सञ्चालन गरेका खड्काको कार्यक्षमतामाथि प्रश्न उठाइएको छ ।

सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री भोजराज जोशीले गत पुस १० गते नै पदबाट राजीनामा दिएका थिए । तर जोशीलाई पनि कार्यक्षमता कमजोर भएको भन्दै जिम्मेवारीबाट हटाइएको रास्वपाले जनाएको छ । आफू सामाजिक काम र आफ्नो क्षेत्रमा कम समय दिएको महसूस गर्दै राजीनामा दिएको सामाजिक सञ्जालबाट घोषणा गरेका थिए । जोशीलाई हटाएर पारस बाहुनलाई सुदूरपश्चिम प्रदेशको महामन्त्रीको जिम्मेवारी दिइएको छ ।

रास्वपाको फागुन ६ गते बसेको सचिवालयले बैठकले कर्णाली प्रदेश कमिटी नै विघटन गरेको हो । कर्णालीको प्रदेश समिति र जिल्ला समितिहरुले पनि संगठन विस्तार गर्न नसकेको आरोप लगाउँदै प्रदेश कमिटी विघटन गरिएको छ । रास्वपाले एक वर्षअघि धिरज वलीको नेतृत्वमा कर्णाली प्रदेश कमिटी गठन गरेको थियो । केन्द्रबाट नै संगठन परिचालन हुने गरी तत्कालका लागि ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update