
- सुनिता विष्ट
मकवानपुर । लामो समयसम्म बस्न नसकेको बागमती प्रदेश सभाको बैठक मंगलबार बस्यो । प्रतिपक्षी दलहरुले सदन चल्न नदेलान् भन्ने त्रास मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई थियो । सदन निरन्तरताका लागि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज बिहानै सर्वदलीय बैठकको आव्हान गरेका थिए । बिहानको बैठकमा सहमति नभएपछि दिउँसो सदन चल्नुअघि संसदीय बैठक बसेर सदन सुरु भयो । सदन त चल्यो तर प्रतिपक्षी दलहरु सरकारप्रति सन्तुष्ट भने देखिएका छैनन् ।
बागमती प्रदेश सभामा रहेका दलहरुबीचको लामो समयदेखिको विवादको गाँठो फुक्न सकेन । मंगलबार सभामुखको निवासमा बसेको बसेको सर्वदलीय बैठकले सहमतीको बाटो निक्र्यौल गर्न नसकेको हो । सदनमा रहेका दलहरुबीचमा सहमतिको निकास दिन प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आव्हान गरेका थिए । आइतबार बिना निष्कर्ष टुंगिएको बैठक आज बिहानको लागि बोलाइएकोमा सहमति नजुटेको राप्रपाका बागमती संसदीय दलका नेता उद्धव थापाले बताए ।
यता मंगलबारको संसद बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गर्लान् कि भन्ने आशंका थियो । तर, माहोल सकारात्मक बन्यो । सरकारसँग एमाले भने सकारात्मक बनेको हो कि भन्ने चर्चा पनि चल्यो । यद्यपी त्यस्तो नभएको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बताउँछन् ।
बागमतिका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल भने सहमतिको नजिक पुगेको दावी गर्छन् । सहमतिको बिषयमा गहन छलफल भएको र छलपललका क्रममा तीनवटा विकल्प निकालिएको मुख्यमन्त्री जम्मकट्टेलको दाबी छ ।
बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू वाचन गरिएको थियो भने अधिवेशनको सफलताको कामनाका लागि दलीय हिसाबमा सांसदहरूले मन्तव्य राखेका थिए । तर, बैठक अन्य एजेण्डामा भने प्रवेश गर्न सकेन् । अब बागमती प्रदेशको प्रदेशसभाले नयाँ संकल्प गर्दै संसदलाई प्रभावकारी बनाउला ? चासो छ ।