काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढी गण्डकी परियोजनामा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर ९ अर्ब कमिशन आएको आरोप लगाएका थिए ।
अहिले मेडिकल ब्यवसायी दुर्गा प्रसाईँले उद्योगी ब्यवसायीदेखि राजनीतिक दलका नेताहरुको नाम नै तोकेर त्यस्तै आरोप लगाएका छन् । विभिन्न क्षेत्रमा भएको भ्रष्टाचार गिरोह भनी प्रसाईँले नाम नै सार्वजनिक गरेपछि के उनीहरुलाई अनुसन्धान होला त ?
नेपालमा ठूला भ्रष्टाचारका काण्डहरु दर्जनौं दर्जन छन् । भ्रष्टाचार बेथितिका प्रकरणहरु चाङका चाङ छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण सतहमा आयो भने ललिता निवास प्रकरणको फाइल खोल्ने काम पनि भयो ।
गिरीबन्धु टी स्टेट लगायतका प्रकरणहरु बाँकी नै छन् । भ्रष्टाचार र अनियमितता प्रकरणमा ठूला राजनीतिक दलका शीर्ष नेताहरु नै संलग्न रहेको बेलाबेला सार्वजनिक भइरहेका हुन्छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २ वर्षअघि २०७८ असोज २३ गते गोरखामा आयोजित पार्टीको कार्यक्रममा बुढी गण्डकी जलविद्युत परियोजनामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मिलेर ९ अर्ब कमिशन बाँडीचुडी खाएको आफूसँग प्रमाण नै रहेको दाबी गरेका थिए ।
प्रधानमन्त्रीसमेत भइसकेका डा. भट्टराईले तीन नेताले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाणसमेत रहेको दाबी गरिरहँदा राज्यका जिम्मेवार निकायले खोजीनीति गरेन ।
भट्टराईले गोरखाको सोही कार्यक्रममा तीन नेतासहित अरु ८, १० जना कमिशनखोर रहेको दाबी गरे । तर अरुको नाम बताउन चाहेनन् ।
पछिल्लो समय मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ पनि विभिन्न ब्यक्तिहरुको नाम नै किटान गरी भ्रष्टाचारको आरोप लगाइरहेका छन् । उनले नेपालका ठूला उद्योगी ब्यवसायी तथा मारवाडी समुदायलाई पनि तथानाम गाली गर्दै हिँडिरहेका छन् ।
मारवाडी समुदायको विभिन्न नेताहरुको नाम नै तोकेर देश कंगाल बनाएको आरोप लगाइरहेका प्रसाईँले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा भ्रष्ट गिरोह भनी तस्विरसहित नै सार्वजनिक गरेका थिए ।
प्रसाईँले चौधरी ग्रुप, गोल्यान ग्रुप, गोल्छा ग्रुप, विशाल ग्रुप, त्रिवेणी ग्रुप, शारदा ग्रुपदेखि यति ग्रुपका सञ्चालकहरुलाई देश कंगाल बनाउनेको सूचीमा राखे । दीपक मलहोत्रा, जगदिश प्रसाद अग्रवाल, पशुपति मुरारका, उपेन्द्र महतो, रामचन्द्र सांघाई, मोतीलाल दुंगडदेखि गभर्नर महाप्रसाद अधिकारीलाई पनि प्रसाईँले भ्रष्टको सूचीमा नाम प्रकाशित गरेका छन् ।
प्रसाईँले प्लस टुको अध्ययनपछि नेपालीको छोराछोरीलाई विदेश जान बाध्य पार्ने गिरोह भनी डा. गोविन्द केसीसहित विभिन्न राजनीतिक दलका नेता तथा मिडिया सञ्चालक समेतको नाम मुछेका छन् ।
के प्रसाईँले आफूलाई मन नपरेको मान्छेहरुलाई डामेका मात्र हुन् त ? प्रसाईले आरोप लगाएका ब्यक्तिहरुलाई छानबिन र अनुसन्धान प्रक्रिया के हुन्छ ? विना प्रमाण तुष पोख्दै प्रसाईँ बरबराएका हुन् भने उनी कारबाहीको दायरामा आउनुपर्छ कि पर्दैन ? प्रश्नहरु गम्भीर छन् । जिम्मेवार निकायहरु जिम्मेवार बन्ने हो कि ? काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझै गर्ने ?
