
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टबीच उतारचढावको सम्बन्ध छ । दुवै नेताबीच एकअर्काका नोकझोक र घोचपेच चलिरहन्छ । बुधवार रुकुम पूर्वबाट माओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैभन्दा बुद्धि नभएका डाक्टर र हाँसोको पात्र भनेपछि उनीहरुको सम्बन्ध झन चिसिने देखिएको छ ।
१० वर्षे सशस्त्र द्वन्द्वकै बीचमा पनि अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबीचको सम्बन्ध उतारचढावपूर्ण नै थियो । भूमिगतकालमै पनि दुवैले एकअर्कालाई खुइल्याउने काम गरिरहे । तर द्वन्द्व र उतारचढावकै बीच पनि प्रचण्ड र बाबुराम शसस्त्र द्वन्द्वभर १० वर्ष एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरुको टकरावले सीमा नाघ्यो ।
पार्टी एकताको प्रयास र प्रचण्डलाई गोरखामा आफ्नो निर्वाचन क्षेत्र नै छोडिदिएर बाबुरामले सम्बन्ध सुधारमा नरम बन्ने प्रयास गर्दै आए । तर बुधवार रुकुम पूर्वबाट प्रचण्डले फेरि बाबुरामलाई चिढ्याउने काम गरेका छन् । प्रचण्डले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कडा कटाक्ष गर्दै मान्छेले उनलाई बुद्धि नभएको डाक्टर भनेर चिन्ने गरेको भनिदिएका छन् ।
प्रचण्डको यस्तो अभिव्यक्ति आएपछि बाबुराम भट्टराईको सचिवालयले पनि जवाफ फर्काएको छ । भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै बाबुरामले आफ्नो क्षेत्र गोरखा–२ नछाडेको भए प्रचण्ड सांसद बन्ने अवस्था समेत नभएको भन्दै उनको अभिव्यक्तिमा आपत्ति जनाएका हुन् ।
बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिष्ट ठान्नु दुई ठूला राजनीतिक जोक भएको बाबुरामको सचिवालयको प्रतिक्रिया छ ।
सम्बन्धका आरोह–अवरोह
प्रचण्ड र बाबुराबीच पहिलेदेखि नै उतारचढावको सम्बन्ध थियो । माओवादीभित्र शुरुवातदेखि नै बाबुरामप्रति शंकाको दृष्टिले हेरिन्थ्यो भने प्रचण्ड र बाबुरामबीच व्यक्तित्वको टकराव पनि थियो ।
०५२ सालमा माओवादी युद्ध शुरु हुँदा प्रचण्ड पार्टीभित्र स्थापित थिए तर पार्टी बाहिर भने कमै मात्रलाई उनको नाम थाहा थियो । तर बाबुराम भने चर्चामा आइसकेका थिए भने धेरैले माओवादीको मुख्य नेता बाबुरामलाई नै मान्थे । बाबुरामको बढ्दो चर्चाले प्रचण्ड र बाबुरामबीच एक किसिमको शीतयुद्ध नै चल्यो भने माओवादीको चौथो राष्ट्रिय सम्मेलनमा महामन्त्री प्रचण्डको फोटो सार्वजनिक गर्ने र उनलाई स्थापित गर्ने निर्णय नै भयो ।
त्यस्तै भारतको गोवामा भएको बैठकबाट उनीहरुको सम्बन्ध झनै चिसिएर गयो । त्यही बेला मोहन बैद्य भारतको सिलिगुडीबाट पक्राउ परेपछि पार्टीको ठूलो पंक्तिले बैद्य पक्राउ पर्नुमा बाबुरामले नै भूमिका खेलेको भनेर प्रचार गरायो । २०६१ भदौमा रोल्पाको फुन्टिवाङमा भएको बैठकले पनि प्रचण्ड र बाबुरामलाई दुई ध्रुर्वमा पु¥याउने काम ग¥यो ।
बाबुरामले संयुक्त क्रान्तिकारी जनपरिषदको संयोजकबाट राजिनामा दिए, तर फेरि प्रचण्डले राजीनामा फिर्ता लिन लगाए । राजीनामा फिर्ताले विवाद समाधन भएजस्तो देखिएपनि दुई जनाको द्वन्द्व भुसको आगोजस्तो भित्रभित्रै सल्किदै गयो । २०६१ माघमै लावाङ बैठकबाट बाबुराममाथि कारबाही गर्दै उनलाई जनसेनाको नियन्त्रणमा राखियो ।
अनुशासन उल्लघंन गरेको आरोपमा उनीसँग हिसिला यमी र दिनानाथ शर्मा पनि कारबाहीमा परे । शान्ति प्रक्रियाका लागि बाबुरामले भारतसँग सम्बन्ध बढाइरहेका बेला सेनाले प्रचण्डको आवाजसहितको टेप सार्वजनिक ग¥यो ।
उक्त टेपमा बाबुरामलाई भारत परस्त आरोप लगाएपछि बाबुरामले पनि प्रचण्डलाई राजापरस्तको आरोप लगाए । यसरी पटकपटक प्रचण्डसँग टाढिने र नजिक हुँदै आएका बाबुरामले संविधान जारी भएपछि भने २०७२ असोज ९ मा पत्रकार सम्मेलन गर्दै आफ्नै नयाँ घर बनाउने भन्दै उनले पार्टी परित्याग गरे ।
स्वार्थले कहिले नजिक पनि !
पछिल्लो निर्वाचनमा प्रचण्डले चितवनबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर चितवनबाटै रवि लामिछाने पनि चुनावमा उठ्ने र कांग्रेसका बागी र एमालेबीच चुनावी साँठगाँठको सुइको पाएपछि प्रचण्डले चुनाव जित्न नसक्ने निष्कर्षमा पुगे । सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेका प्रचण्डलाई बाबुरामले नै आफृु चुनाव नलडेर गोरखा २ छोडिदिए ।
यसमा बाबुरामको पनि स्वार्थ थियो । छोरी मानुषीलाई अघि बढाउन खोजिरहेका बाबुरामका लागि प्रचण्डले काठमाडौं ७ को टिकट मानुषीलाई मिलाए भने बाबुरामलाई राष्ट्रपति बनाउने आश्वासन दिए ।
प्रचण्डले गोरखामा चुनाव जिते, तर काठमाडौँ ७ मा मानुषी पराजित बनिन् । त्यसपछि माहोल पनि फरक बन्यो, बाबुरामलाई राष्ट्रपतिमा पहल गर्ने विषय ओझेल मात्रै परेन, रामचन्द्र पौडेलले राष्ट्रपतिमा बाजी मारे । त्यसयता पनि माओवादीसँग नेसपाबीच एकताका पहल भइरहे पनि पार्टी एकताको विषयले सार्थकता भने पाउन सकेको छैन ।