
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रा गन्तव्य मात्र नभएर अपराधको केन्द्र बन्दै गएको छ । अध्यागमन, भन्सार, सुरक्षा निकाय र राजनीतिक संरक्षणको घनिष्ठ साँठगाँठले तस्करीलाई संस्थागत बनाएको छ । अध्यागमनमा भइरहेका मानव तस्करीका खेल, सुनदेखि लागुऔषध तस्करीका श्रृंखलाले विमानस्थल ‘गेटवे’ होइन ‘गेट–वे अफ क्राइम’ बन्दैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई के भन्ने ? हवाई अड्डा वा अपराध अड्डा ? वा दुई नम्बरी अड्डा ? पछिल्ला वर्षहरुमा यो सवाल झन् बलियो बनिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अनियमितता, भ्रष्टाचार र तस्करीको जालो देशको समग्र राजनीतिक स्थिरतासँग गहिरो रूपमा गाँसिएकाले पनि यति संवेदनशिल क्षेत्रमाथि यतिसम्म गम्भिर प्रश्न उठाउनु परिरहेको छ ।
कुख्यात बिकिनी किलर चाल्र्स शोभराजले ‘नेपालको भन्सारबाट हात्ती पनि छिराइदिन्छु’ भनेको मजाकजस्तै लागे पनि वर्तमान अवस्था हेर्दा त्यो ठट्टा होइन कठोर यथार्थ सावित भइरहेको छ । नेपालको राजनीतिक प्रणाली विगत केही दशकदेखि अस्थिरताको दुश्चक्रमा फसेको छ । संसद विघटन, गठबन्धन सरकार, दलभित्रको गुटबन्दी, नेताहरूको व्यक्तिगत स्वार्थ र अकर्मण्यताको परिणामस्वरूप शासन प्रणाली कमजोर भएको छ । र, त्यसैको उदहारण हो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संगठित अपराधको अड्डा बन्दै गएको छ । मानव तस्करीदेखि सुन तस्करी, लागुऔषध ओसारपसारदेखि विदेशी मुद्राको अवैध कारोबारसम्म जे कुरामा पैसा देखिन्छ त्यहाँ त्रिभुवन विमानस्थलका केही कर्मचारी र बिचौलियाको गठबन्धन सक्रिय देखिन्छ ।
अध्यागमन कार्यालय नै अनियमितताको ‘हब’
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारी मोबाइल, कम्प्युटर, र कागजातहरू नियन्त्रणमा लियो । भिजिट भिसामा अनियमितता गरी प्रतिव्यक्ति २० देखि ४० हजार रुपैयाँसम्म असुली गर्ने गरेको आरोपमा अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग सोधपुछ गरिएको छ ।
अन्य चार कर्मचारीसँग पनि अनुसन्धान जारी छ । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । अख्तियारको प्रारम्भिक छानबिनले फर्जी कागजातको आधारमा नेपाली नागरिकलाई वैदेशिक भ्रमणको नाममा अवैध रूपमा खाडी मुलुकमा पठाउने मानव तस्करी सञ्जाल फेरि सक्रिय भएको पुष्टि गरिसकेको छ ।
अध्यागमन कर्मचारी र बिचौलियाबीचको साँठगाँठले भ्रमण भिसालाई मानौँ मानव तस्करीको लाइसेन्स बनाइदिएको छ । नक्कली डकुमेन्ट, झुठा होटल बुकिङ, नक्कली इनभिटेसन लेटर, डबल देखाइएका टिकट, नक्कली डलर सटही प्रमाणपत्र यस्ता दस्तावेज पेस गर्दा पनि अध्यागमनले आँखा चिम्लिन्छ । तथ्यांक भए पनि ट्र्याकिङ प्रणालीको अभावमा कुन नेपाली फर्किए÷फर्किएनन् भन्ने कसैले थाहा पाउँदैन ।
विमानस्थलबाट जे पनि पास !
त्रिभुवन विमानस्थल तस्करहरूका लागि अब ‘हब’ मात्र नभई ‘हेभन’ बनेको छ । साढे ३३ किलो सुनकाण्डदेखि सय किलो सुन प्रकरणसम्मले विमानस्थलमा भन्सार, सुरक्षा अधिकारी र राजनीतिक पहुँचको जालो कति गहिरो छ भन्ने स्पष्ट देखाएको छ । एउटा मात्र गिरोहले ४ सय २१ पटक सुन भित्र्याएको प्रमाण सार्वजनिक भइसकेको छ ।
पछिल्लो पटक स्कूटरको ब्रेक शू भनेर पास गरिएको कार्गोबाट सय किलो सुन बरामद भएपछि विमानस्थलको सुरक्षा प्रणालीमाथि थप प्रश्न उठेका छन् । सुरक्षाका सबै चेकजाँच पूरा गरी बाहिरिएको कार्गोबाट सुन फेला पर्नु ‘सिस्टम’ भित्रैको भ्रष्ट संरचनाको संकेत भएको आम बुझाई छ । त्रिभुवन विमानस्थलबाट हुने तस्करी अब कागजमै सीमित छैन ।
सुन निलेर लैजाने प्रविधि, भेप, लुगा, मोजा, गञ्जी सबैलाई कभर बनाएर तस्करी गरिन्छ । भिआइपी पासपोर्टको दुरुपयोग नयाँ रहस्य होइन । तर, दुःखद कुरा के हो भने यस्ता अनियमिततामा संलग्नको संख्या क्यालकुलेटरमा हिसाब गर्नुपर्ने अवस्था छ ।
कमजोर समन्वय, माफियामय संरचना
विमानस्थलमा खटिएका निकायहरूबीच समन्वयको चरम अभाव छ । सुरक्षाकर्मी, भन्सार, अध्यागमन, ट्राफिक, ट्रान्सपोर्ट, क्लिनिङ, एयरलाइन्स, ग्राउन्ड ह्यान्डलिङ, इन्धन सबैमा छुट्टाछुट्टै टोली छन् । तर उद्देश्य एउटै छैन । यो म्युजिकल चेयरको खेलजस्तै हो । कर्मचारी फर्कन्छन्, फाइल बन्द हुन्छ अनि अपराध फेरि दोहोरिन्छ ।
विगतका वा वर्तमान सरकार न कांग्रेस, एमाले, माओवादी कुनै पनि सरकारले त्रिभुवन विमानस्थलको माफिया संरचना भत्काउन गम्भीर प्रयास गरेनन् । बरु, तस्कर सञ्जालहरू राजनीतिक संरक्षणमा अझ बढी सशक्त बने । अनुसन्धान समितिहरू बने, प्रतिवेदन आए तर कार्यान्वयन सुन्यजस्तै रह्यो ।
‘गेटवे’ कि ‘गेट–वे अफ क्राइम’ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गेटवे मात्र होइन आजको दिनमा संगठित अपराधको ‘गेट–वे अफ क्राइम’ बनिसकेको छ । विमानस्थलमा देखिएका गम्भीर सुरक्षा र नैतिक संकट केवल त्यहाँका कर्मचारीको कमजोरी होइन सम्पूर्ण शासन प्रणालीको अधोगतिको उपज हो । र यो अधोगति सिधै देशको अस्थिर राजनीतिक नेतृत्वबाट निर्देशित छ ।
जबसम्म देशमा स्थिर सरकार, कडा नीतिगत प्रतिबद्धता र राजनीतिबाट प्रशासन अलग राख्ने संरचना निर्माण हुँदैन तबसम्म त्रिभुवन विमानस्थल नेपाली नागरिकका लागि असुरक्षित र अपराधीहरूका लागि स्वर्ग भइरहनेछ । अन्तर्राष्ट्रिय समुदायले नेपालका विमानस्थललाई सुरक्षित ठानुन् भन्ने हो भने पहिले विमानस्थललाई अपराधमुक्त बनाउनु अपरिहार्य छ । नत्र शोभराजको ‘हात्ती पनि छिराइदिन्छु’ भन्ने व्यङ्ग्य सधैंको लागि नेपालकै गम्भीर विडम्बना बनिरहनेछ ।