News 24 Television
वीरगञ्जमा कोरोना चेकजाँच कडा, स्वास्थ्यकर्मी नै समस्यामा

पर्सा । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि पर्साका सीमानाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । खुल्ला सीमाका कारण कोरोना संक्रमितहरु सहजै प्रवेश गर्न सक्ने भन्दै हेल्थ डेस्कमा खटेका स्वास्थ्यकर्मीहरुले सिमानाकाबाट आवतजावत गर्नेलाई कडाईका साथ चेकजाँच गरिरहेका छन् । तर, परीक्षण गर्ने साधन नै अभावका कारण जाँचकर्ता स्वयंम जोखिममा रहेका छन् । 

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको नयाँ भेरिएन्टले आक्रान्त बनाइ रहँदा यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । संक्रमण फैलिन सक्ने जोखिम आकलन गरि यतिबेला पर्साका सिमानाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । 

गत शनिबार सुदुरपश्चिम प्रदेशमा २४ घण्टामा ४ जनामा कोरोना संक्रमित फेला परिसकेका छन् । ति सबै भारतबाट आएका थिए । मुलुकको अन्य नाकाहरुबाट कोरोना संक्रमितको प्रवेशले पर्साका सिमानाकाहरुमा स्वास्थ्य चेकजाच र निगरानी गर्ने कार्य बढाइएको छ । यद्यपी चेकजाँचका लागी आवश्यक टेष्ट किट नहुँदा कोरोना जस्तो लक्षण देखिएकाहरुलाई अस्पताल जान आग्रह गर्नुबाहेक अरु कुनै विकल्प देखिदैन ।  

अहिले वीरगञ्ज भन्सार कार्यालय अगाडी स्थापना गरिएको हेल्थ डेस्कमा ७ स्वास्थ्यकर्मी दुई सिफ्टमा खटिरहेका छन् । मुलुकको प्रमुख नाका वीरगञ्जबाट दैनिक हजारौँको संख्यामा यात्रुहरु ओहोरदोहोर गर्ने गर्छन् । तर जनशक्ति अभावका कारण जम्मा ६ सयजनाको मात्रै चेकजाँच हुने गर्छ । यस्तै हेल्थ डेस्कमा सेनिटाईजर, मास्क र गनथर्मोमिटर बाहेक अन्य कुनैपनि सामाग्री उपलब्ध छैन । जसका कारण सिमामा खटेकाहरु जोखिम मोलर काम गरिरहेका छन् ।

त्यसका बाबजुद भ्यायसम्म निगरानी र उपलब्ध साम्रगीको प्रयोग गरी निगरानी कार्यलाई तिब्र बनाएको हेल्थ डेस्कका स्वास्थ्यकर्मी कृष्ण मुरारी कुशुवाह बताउँछन् । उनले खासगरी भारतको दिल्ली, कलकत्ता, महाराष्ट्र लगायत विभिन्न ठाउँहरुबाट यात्रु बढी आउने गरेको   बताउँछन् । चेकजाँचको क्रममा १ जनामा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपनि टेष्ट किटको अभावका कारण अस्पताल जान आग्रह गरिएको उनको गुनासो छ । 

नेपालमा कोरोनाको भयावह अवस्था नरहेपनि सम्भावित जोखिमलाई ध्यानमा राखेर राज्यस्तर बाट हुनुपर्ने रोकथामको प्रयास चित्त बुझ्दो नभएको नारायणी अस्पतालका फिजीसियन डा. निरज सिंह बताउँछन् । उनले डराउनु पर्ने स्थिति हाललाई नभएपनि सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।   

यता जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका अध्यक्ष तथा पर्साका प्रमुख जिल्ला आधिकारी गणेश अर्यालले सिमाक्षेत्रमा उच्च सतर्कता अपनाईएको दाबी गर्छन् । उनले  ंशंका लागेका विरामीहरुलाई अस्पतालमा उपचार गराउने र भारतीय समकक्षीसंग समन्वय गरेर अघि बढ्ने बताए । 

खासमा भन्ने हो भने, सरकारको अपर्याप्त तयारी र जनशक्तिको अभावका कारण सिमा क्षेत्रका बासिन्दाहरु सधैँ उच्च जोखिममा पर्ने गर्छन् । कोरोना कहर ताका रेड जोनमा परेको पर्सासंग तितो अनुभव पनि छ । खुलासिमा र जोखिमको सम्भावनालाई ध्यानमा राखेर सरकारले उच्च स्तरको तयारी गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update