
काठमाडौं । कात्तिक १७ गते हुने तय भएको रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारी तीब्र बनेको छ । विभिन्न दलहरु आ–आफ्नो चुनावी मुद्दा बोकेर मैदानमा उत्रिएका छन् । नेपाली काँग्रेस, एमाले तथा प्रतिपक्षी दलहरु राप्रपा र रास्वपासमेत निर्वाचनको तीव्र तयारीमा रहँदा मधेसवादी दलहरुमा भने अन्योल छ ।
निर्वाचन आयोगले रुपन्देही– ३ का आगामी कात्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तोकिसकेको छ । मिति नै तय भइसकेको अवस्थामा दलहरु उपनिर्वाचनको सरगर्मी बढाइरहेका छन् । यस्तो अवस्थामा सत्तारुढ दल नेपाली काँग्रेस र एमाले तथा प्रतिपक्षी दलहरु राप्रपा र रास्वपासमेत निर्वाचनको तीव्र तयारीमा छन् । यो निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस र एमाले नै एकअर्काविरुद्ध आमने–सामने हुँदैछन् ।
यस्तोमा निर्वाचन समीक्षा गर्दै समानुपातिक मतमा सबैभन्दा ठूलो दल काँग्रेसले एमाले र रास्वपालाई नै प्रमुख भनेर निश्कर्ष निकालेको छ । समानुपातिक मतमा कमजोर रहेको माओवादी केन्द्र तथा राप्रपा र मधेशी दलहरुलाई भने काँग्रेसले हल्का रुपमा लिएको छ ।
०७९ को निर्वाचनमा कस्तो थियो समानुपातिक मत ?
रुपन्देही– ३ मा २०७९ को आम निर्वाचनमा समानुपातिकतर्फ नेपाली काँग्रेसले सबैभन्दा धेरै २० हजार २७८ मत पाएको थियो ।
अरु दलको मत परिणाम यस्तो छ ।
– नेकपा एमाले : १६ हजार ९८६ मत
– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) : १४ हजार १५४ मत
– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : ९ हजार १८३ मत
– नागरिक उन्मुक्ति पार्टी (नाउपा) : ६ हजार र जसपाले ५ हजार मत
– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) : ५ हजार मत
– जनमत पार्टी : ३ हजार ७०० मत
– माओवादी केन्द्र : २ हजार ६०० मत
– जनमुक्ति पार्टी : १ हजार ९०० मत
– हाम्रो नेपाली पार्टी : १ हजार ३४७ मत
– नेकपा एस : ७८१ मत
७९ सालमा यो निर्वाचन क्षेत्रमा एमाले र जसपासँगको गठबन्धनमा राप्रपाका दीपक बोहोरा ३६ हजार ६४८ मत प्राप्त गर्दै विजयी भएका थिए ।
अर्कोतर्फ तत्कालीन काँग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका बालकृष्ण खाँण भने ३४ हजार ६ मत प्राप्त गरेर पराजित भएका थिए ।
दलहरुको अहिलेको तयारी कस्तो ?
नेपाली काँग्रेस
नेपाली काँग्रेसले यो पटक रुपन्देही – ३ मा जुनसुकै स्थितिमा पनि जित निकाल्नेगरी उपनिर्वाचनको तयारी गरिरहेको छ । गएको शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा रुपन्देही उपनिर्वाचनबारे घनीभूत छलफल भएको थियोे । जहाँ गत निर्वाचनमा बालकृष्ण खाँण थोरै मतले पराजित भएको विषयको पनि चर्चा भएको थियो ।
उक्त हारलाई नेताहरुले प्राविधिक कमजोरीको रुपमा व्याख्या गरेका छन् भने, अबको निर्वाचनमा कुनै हालतमा जित निकाल्नुपर्नेमा छन् । यद्यपि यो पटक रुपन्देही– ३ मा काँग्रेसले कसलाई उम्मेदवार बनाउँछ ? भन्ने टुंगो छैन । तर पनि यो क्षेत्रमा बालकृष्ण खाँणले नै फेरि टिकट पाउने संभावना बलियो रहेको दावी दावी गरिँदै आएको छ ।
नेकपा एमाले
नेकपा एमाले पनि रुपन्देही – ३ को उपनिर्वाचनबारे घनिभूत छलफलमा छ । एमालेले उपनिर्वाचनको समीक्षा अन्तरपार्टी निर्देशन (अपानि)मा समेत गरेको छ । एमालेले गत स्थानीय तहमा पार्टीले जितेका ७ मध्ये एउटा वडामा मात्रै उपचुनाव जितेको अवस्थाबाट शिक्षा लिनुपर्ने भन्दै रुपन्देही– ३ को नतिजा आफ्नो पक्षमा पार्नेपर्ने निश्कर्ष निकालेको छ । यस्तैमा बिहीबार मात्रै नेकपा एमालेले जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गर्दै उपनिर्वाचनका लागि एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।
रास्वपा
रास्वपाले पनि रुपन्देही – ३ को उपनिर्वाचनमा जित निकाल्ने महत्वकांक्षा बोकेको छ । यसअघि इलामको उपनिर्वाचनमा व्यहोरको हारको बदला रुपन्देहीबाट लिने रास्वपाको तयारी छ । यद्यपि अझैसम्म उसले आधिकारिक उम्मेदवार तय गर्न सकेको छैन । तर पनि रास्वपाले रुपन्देहीमा आफ्नो पकट जमाउन राजनीतिक गतिविधि भने तीव्र पारिरहेको छ ।
उम्मेदवार विनै निर्वाचन गतिविधि बढाइरहेको रास्वपाले बुधबार मात्रै पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेको भैरहवा कारागार नजिकै संसदीय दलको बैठक राखेर आफ्नो प्रभाव देखायो ।
भैरहवा बैठकमार्फत रास्वपाले आफूहरु फरक राजनीतिक दल भएको र सरकारविरुद्धको खबरदारीमा पनि सफल भएको निश्कर्ष निकालेको छ ।
राप्रपा
राप्रपा पनि यो उपनिर्वाचनमार्फत आफ्नो विरासतलाई कायमै राख्नुपर्ने दवावमा छ । यद्यपि यसअघिको निर्वाचनमा गठबन्धनमार्फत जित हासिल गरेको राप्रपालाई यो पटक नजिता आफ्नो पक्षमा पार्न सहज देखिँदैन ।
राप्रपाले यो उपनिर्वाचनका लागि स्वर्गिय दीपक बोहोराकै दुई छोराहरुसहित ६ जनाको नाम सम्भावित उम्मेदवारका रुपमा अघि सारिसकेको छ ।
माओवादीसहित मधेशी दल अझै अन्योलमा !
उपनिर्वाचन मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र भने रुपन्देही – ३ का लागि उम्मेदवार चयनमा खासै सक्रिय बन्न सकेको छैन । माओवादीमा उपनिर्वाचनबारे सामान्य छलफल भएपनि यो विषय पार्टी बैठकमै औपचारिक प्रवेश भइसकेको देखिँदैन । अर्कोतर्फ मधेशकेन्द्रित दलहरु जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा भने ७ दलिय मोर्चा बनाएर अघि बढ्ने प्रयासमा छन् ।
उनीहरुले संघीय लोकतान्त्रिक मोर्चा बनाउने चर्चा छ । यद्यपि यो मोर्चाले पनि अझैसम्म साझा उम्मेदवार तय गर्न सकेको छैन । उता मोर्चामा नरही एकल उम्मेदवार घोषणा गर्ने भनेको जनमत पार्टीले पनि आफ्नो उम्मेदवार तय गर्न सकेको छैन ।
यसले पनि मधेशी दलहरु मोर्चामार्फत वा एकल उम्मेदवारीमार्फत निर्वाचनमा सामेल हुन्छन् ? भन्ने प्रष्ट भइसकेको छैन ।