
काठमाडौं । मुलुकमा बर्तमान राजनीतिक दलहरुप्रतिको नैराश्यता बढिरहेको छ । बढ्दो बेरोजगारी, महंगी, कालाबजारी, भ्रष्टाचार लगायतका कारण नागरिक आजित बनेका छन् ।
त्यसैले ठूलो पंक्तिमा युवाहरु विदेश पलायन भइरहेका छन् । त्यसैले युवाहरुको विदेश पलायनलाई रोक्न भन्दै पूर्व राजपरिवारका सदस्यहरुले ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक अभियान सुरु गरेका छन् । युवालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने गरी थालिएको यो अभियानले कस्तो राजनीतिक अभिष्ट बोकेको छ ?
मुलुकमा राजनीतिक दलहरुप्रति नैराश्यता बढिरहँदा राजसंस्था र राजवादीहरुप्रति आकर्षण बढिरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछिका झण्डै दुई दशकमा देखिएका राजनीतिक अस्थिरता र बढ्दो कुशासनले जनता व्यवस्था परिवर्नको खोजीमै लागेका छन् । यस्तैमा गणतन्त्रको विकल्प राजतन्त्र नै बन्न सक्ने भन्दै सुरु भएका कतिपय आन्दोलनहरु भविष्यमा खतराका कारण नबन्लान् भन्न सकिने अवस्था छैन । यो अवस्थामा पूर्वराजपरिवारले पनि मुलुकमा देखिएका नैराश्यता चिर्न राजनीतिक र सामाजिक गतिविधि तीव्र रुपमा बढाइरहेका छन् । राजपरिवारले थालेको यो गतिविधिको झिल्को गणतन्त्र नै सखाप पार्ने कारण त नबन्ला ? भन्ने प्रश्नसमेत व्यापक रुपमा उठ्न थालेको छ ।
‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान
मुलुकमा बढ्दो बेरोजगारी र विदेशीने क्रम निरन्तर बढ्दा यसको रोकथामका लागि पूर्वराज परिवार सदस्यहरुले नै ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक अभियान सुरु गरेका छन् । हिमानी ट्रष्टले इन्टरनेशनल क्लबसँगको सहकार्यमा थालेको अभियानले खासगरी युवालाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान दावी गरिएको छ । यसअभियानले मुख्यातः ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने मुल नारा बोकेको छ ।
कार्यक्रमले विदेशबाट फर्किएका वा स्वदेशमै केही नवीन गर्न चाहने युवाहरूलाई लक्षित गरेर यो अभियान आरम्भ गरेको हो । अभियानमार्फत विदेश तथा स्वदेशमा रहेका युवाहरुलाई मातृभूमिप्रति दायित्वबोध गराउँदै आवश्यक सल्लाह, सुझाव र अवसर प्रदान गर्ने उदेश्य राखेको छ । अभियानले उद्यम गर्नेहरुलाईसमेत आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक बीउ पुँजी उपलब्ध गराउने जनाइएको छ ।
जसले पुँजीको अभावमा सपना तुहाउनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । यसै अवसरमा शनिकार युवा पुस्ताले स्वदेशमै उत्पादन गरेका विभिन्न व्यापारिक प्रदर्शनसमेत गरेका छन् । जहाँ पूर्वराजा ज्ञानेन्द्र शाहदेखि, पूर्वयुवराज्ञी हिमानी शाह तथा पूर्वनवयुवरा हृदयेन्द्र शाहसमेत प्रत्यक्ष सहभागी भएका छन् ।
राजपरिवारबाटै भएको यो अभियान गणतन्त्रमा बढेको बेरोजगारी र विदेश पलायनप्रतिको व्याङ्ग्यात्मक कदमको रुपमा पनि अथ्र्याउन थालिएको छ । हुनत यस्तै प्रकृतिको कार्यक्रम तत्कालीन राजा वीरेन्द्र शाहले २०२४ सालमा पनि ल्याएका थिए । सो बेला वीरेन्द्रले ‘गाउँ फर्क’ अभियान ल्याएका थिए । तर उक्त अभियान सो समय सफल नभएको बताइन्छ । यस्तैमा गणतन्त्रपछि पनि कुनैबेला माओवादीले कार्यकर्ताहरुलाई महिनाको १५ दिन श्रम गर्नैपर्ने, एमालेले पनि ‘गाउँ फर्क अभियान’ र नयाँ दल रास्वपाले समेत विदेशमा रहेका नेपालीलाई स्वादेश फर्काउने अभियान ल्यायो । तर यी सबै अभियानहरु व्यवहारतः सफल भएको देखिएको छैन । यस्तैमा पूर्वराजपरिवर सदस्यले नै ल्याएको ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारासहितको यो अभियान कति सफल होला ? भन्ने आमरुपमा कौतुहलता बढ्दो छ ।
हृदयेन्द्र मनोविज्ञानको प्रयोगमा पूर्वराजा ज्ञानेन्द्र !
पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्ला दिनहरुमा राजसंस्था पुनस्र्थापनाका लागि सक्रियता बढाइरहेका छन् । उनले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा भिडियो बक्तव्य नै जारी गरेर देश बचाउने भए आफूलाई साथ दिन आग्रह गरेका थिए ।
त्यसयता पनि निरन्तरजसो उनी सक्रिय गतिविधिमा छन् । यस्तैमा उनले नाती हृदयेन्द्रलाई नै मैदान उतारेर राजसंस्थाप्रति आकर्षण र युवा पङ्तिलाई जोड्ने कसरतमा छन् । यसबीचमा हृदयेन्द्रलाई पूर्वराजा वीरेन्द्र शाहको स्मृति दिवसका दिन गरिएको दीप प्रज्वलनमा पनि सरिक गराइएको थियो । यस्तै पूर्वयुवराज्ञी हिमानीलेसमेत दयेन्द्रलाई जुम्लामा निर्माण गरिएको सिंचाई पोखरीको उद्घाटनदेखि सुत्केरी सेवा केन्द्रको शिलान्यासमा सरिक गराइन् ।
पछिल्लो समय त जुम्लाको परिवेशमा निर्माण गरिएको हृदयेन्द्रको ‘भ्लग’ नै व्यापक भाइरल बनेको छ । हृदयेन्द्रको यस्तो सत्रियताले पनि राजसंस्था र राजपरिवारप्रति प्रत्यक्ष रुपमा जनआकर्षण बढिरहेको बताइन्छ । जसलाई आमनागरिकमा ज्ञानेन्द्र शाहले हृदयेन्द्र मनोविज्ञान प्रयोग गरेको रुपमा ब्याख्या भइरहेको छ ।