News 24 Television
अपाङ्गता बाधा होइन अवसरः आत्मनिर्भर बन्दै सिन्धुपाल्चोकका १३६ जना

सिन्धुपाल्चोक । अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझ हुन् भन्ने सोच अझै कतिपय ठाउँमा जीवित छ । तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिने उदाहरणहरू देखिन थालेका छन् । जलवायु अनुकूलन कृषि प्रविधिमार्फत अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार अहिले व्यावसायिक गोलभेडा खेतीमा जुटेका छन् । 

उत्पादन र आत्मनिर्भरतामा आधारित यो अभियानले उनीहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास बढाएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–८ ईर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छाला रोग पोरफिरियाबाट पीडित छन् । घाममा निस्कन नसक्ने भएकाले दुई वर्षअघिसम्म दैनिक काममा उनलाई परिवारको सहारा चाहिन्थ्यो । 

अहिले भने घरछेउको टनेलमा मल्चिङ प्रविधिबाट गोलभेडा खेती गरिरहेका छन् । पहिलो वर्ष ३०० किलो गोलभेडा बिक्री गरेपछि आत्मविश्वास बढेको छ र एउटै बोटबाट ७ किलोसम्म उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

टनेलभित्र फलिरहेका गोलभेडाले भक्तबहादुर तामाङलाई आम्दानीसँगै आत्मनिर्भर बन्ने आत्मविश्वास दिएको छ । उनले अपाङ्गता भएका व्यक्तिले अवसर र सीप पाए परिवार तथा समाजमा आर्थिक योगदान दिन सक्ने सन्देश दिएका छन् । 

यस्तै, चौतारा साँगाचोकगढी–१३ ठुलो सिरुवारीकी जगमाया दुलालको परिवार पनि प्रेरणादायी छ । बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहका कारण पहिले घरमै सीमित रहने जगमायाले अहिले घरछेउमा तीन वटा टनेल बनाएर गोलभेडा खेती गरिरहेकी छन् । 

थोपा सिँचाइ, मल्चिङ र बायोडिग्रेबल प्रविधिबाट उत्पादन बढेको छ । गत वर्ष एक टनेलबाट करिब ५० हजार रुपैयाँ आम्दानी गरेकी उनी यस वर्षको उत्पादन बजार पठाउने तयारीमा छिन् ।

चौतारा साँगाचोकगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा १३६ जना अपाङ्गता भएका व्यक्ति तथा परिवार जलवायु अनुकूल कृषिमा आबद्ध छन् । 

बेसलाइन सर्वेक्षणका आधारमा छनोट गरिएका परिवारलाई प्रति टनेल करिब ६० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएपछि उनीहरू घरमै बसेर आधुनिक उत्पादनमुखी कृषिमा संलग्न भएका हुन् । 

दुई वर्षको अनुभवले अपाङ्गता भएका व्यक्तिलाई राहतभन्दा उत्पादन र आयआर्जनमा जोड्ने कार्यक्रम प्रभावकारी देखाएको छ । तालिमसँगै उत्पादन र बजारसँग जोड्नुपर्ने निष्कर्ष निकाल्दै नगरपालिकाले अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ ।

पहिले घरबाहिर काम गर्न नसक्ने धेरै व्यक्ति अहिले टनेलभित्र गोलभेडा खेतीमा व्यस्त छन् । मेहनतका कारण अपाङ्गतालाई उनीहरुले अवसर बनाइरहेका छन् । उत्पादनसँग जोडिएपछि उनीहरूको आत्मविश्वास र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update