म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका कृषि विकासको महत्वपूर्ण मोडमा रहेको छ । यहाँ उत्पादन हुने मकै, कोदो, आलु, फापर, खुर्सानी, सुन्तला र जडीबुटीले समृद्धिको आधार दिने संकेत देखाएका छन् ।
स्थानीय सरकार, किसान, कृषि प्राविधिक र सरोकारवालाको सहकार्यले धवलागिरी कृषिको उदीयमान केन्द्र बन्दै गएको छ । यहाँ तल्लो भेगमा धान, मकै, गहुँ, सुन्तला र तरकारी, मध्यम क्षेत्रमा फलफूल तथा नगदे बाली, र माथिल्लो क्षेत्रमा आलु, फापर, अकबरे खुर्सानी, रायोको बिउ तथा शितोष्ण तरकारी उत्पादनको राम्रो सम्भावना छ ।
उत्पादनको विविधता यो क्षेत्रको मुख्य विशेषता हो । तर बजार, श्रमिक, अनुसन्धान र प्रशोधन उद्योगको अभाव प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
धवलागिरीमा कृषि परम्परागत रूपमा मुख्य पेशा हो । पहिले आत्मनिर्भर जीवनशैलीमा आधारित कृषि अहिले बसाइँसराइ, वैदेशिक रोजगार र बजार अर्थतन्त्रको प्रभावले व्यावसायिक बन्दै गएको छ । स्थानीय सरकारको प्राथमिकतासँगै किसानमा उत्साह बढेको देखिनछ । गुर्जा, लुलाङ, मराङ आलु पकेट क्षेत्र तथा ताकमका केही क्षेत्र सुन्तला पकेट क्षेत्रका रूपमा विकास गरिएका छन् ।
गुर्जा, लुलाङ र मराङमा हिमाली हावापानी, उर्वर माटो र पर्याप्त चिस्यानका कारण गुणस्तरीय आलु उत्पादन हुन्छ । बढ्दो माग र स्थिर बजारले आलुलाई यहाँका महत्वपूर्ण बाली बनाएको छ । भण्डारण, प्रशोधन र बजार व्यवस्थापन गर्न सके आलु धवलागिरीको आर्थिक मेरुदण्ड बन्न सक्छ । हाल गाउँपालिकामा सबैभन्दा सम्भावनायुक्त कृषि उत्पादन आलु देखिएको छ ।
उच्च पहाडमा उत्पादन हुने फापर स्वास्थ्य प्रेमीबीच अहिले लोकप्रिय बन्दै गएको छ । ढिँडो, रोटी र पिठो महँगो मूल्यमा बिक्री भइरहेका छन् । धवलागिरीको फापरलाई ब्रान्डिङ गर्न सके नयाँ आर्थिक अवसर सिर्जना हुन सक्छ । गाउँपालिकामा प्रशस्त पाइने बनबडेको वैज्ञानिक अध्ययन, पोषण तथा औषधीय गुणको अनुसन्धान भए स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने स्थानीय बताउँछन् ।
गाउँपालिकाले जडीबुटीको अनुसन्धान र प्रवद्र्धनमा पहल गर्ने हो भने प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र निर्यातबाट ठूलो आर्थिक लाभ लिन सक्छ । स्थानीय प्रशोधन उद्योग स्थापना भए किसानको आम्दानी समेत बढ्छ । धवलागिरीमा ढकायो, बाँको, सतुवा र यार्सागुम्बा प्रशस्त पाइने भएकाले तिनको व्यवस्थित व्यवस्थापन र बजारीकरण आवश्यक छ ।
