News 24 Television
घण्टाकर्णका आतंक र अन्त्यको कथा गथाँमुगः पर्व

काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले मंगलवार घण्टाकर्ण अर्थात् गथाँमुगः पर्व मनाएका छन् । घण्टाकर्ण दानवको अन्त्य गरिएको स्मरणमा मनाइने यो पर्वमा तीनखुट्टे राक्षसको आकृति बनाएर साँझ आगोमा जलाउँदै भूतप्रेत, रोगव्याधि र नकारात्मक शक्ति भगाउने परम्परा छ । गथाँमुगःको अवसरमा काठमाडौं, भक्तपुर र ललितपुरमा यो पर्वको विशेष रौनक देखियो । 

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौंका गल्ली, चोक र दोबाटोमा नरकट, छ्वाली र काठबाट एउटा अनौठो राक्षसी आकृति ठड्याइन्छ । त्यसका तीनवटा खुट्टा हुन्छन् । शरीर विशाल छ । अनि साँझ परेपछि त्यही आकृतिलाई टोलवासीले घिसार्दै दोबाटोसम्म पु¥याउँछन् र आगो लगाएर जलाउँछन् । काठमाडौँमा वर्सेनि देखिने यो दृश्य गथाँमुगः पर्वको हो । गथाँमुगः पर्व अहिले गैर नेवार समुदायबीच गठेमंगलको नामले परिचित भइरहेको छ । गथाँमुगः काठमाडौं उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो । 

यो पर्वसँग जोडिएको एउटा सबैभन्दा चर्चित किंवदन्ति छ । जुन घण्टाकर्ण नाम गरेको अत्याचारी राक्षससँग सम्बन्धित रहेको छ । किंवदन्ती अनुसार घण्टाकर्ण यति ठूलो अत्याचारी थियो कि बाटो हिँड्ने मानिससँग जबर्जस्ती कर उठाउँथ्यो, दुःख दिन्थ्यो र समाजलाई आतंकित बनाएको थियो । धार्मिक मन्त्र वा पवित्र कुरा सुन्न उसलाई मनै पर्दैन थियो । त्यसैले यस्ता कुरा सुन्न नपरोस् भनेर उसले आफ्ना दुवै कानमा ठूला घण्टा झुन्ड्याएको थियो । 

जब उ हिड्थ्यो ती घण्टा ठूलो आवाज निकालेर बज्थे । त्यसैले उसको नाम नै घण्टाकर्ण रहन गएको विश्वास गरिन्छ । तर यो किंवदन्तिमा पनि ट्वीस्ट आउँछ । एकदिन अत्याचारी घण्टाकर्णको अन्त्य हुन्छ । एक दिन एक चतुर तान्त्रिकले घण्टाकर्णलाई छलपूर्वक दलदलमा फसाउने योजना बनाउँछन् । राक्षस दलदलमा नराम्ररी फस्छ । निस्कन नसकेपछि वर्षौंदेखि उसको आतंक सहिरहेका मानिसहरूले ढुंगा र माटो प्रहार गरेर उसको अन्त्य गरिदिन्छन् । यही सामूहिक विजयको सम्झना र खुशीयालीमा गथाँमुगः पर्व मनाउने परम्परा शुरु भएको जनविश्वास रहेको छ । त्यसैले हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौं उपत्यकाका नेवार समुदायमा गथाँमुगःको बेग्लै रौनक शुरु हुन्छ । काठमाडौं होस्, भक्तपुर होस् वा ललितपु, टोलटोलमा यसको छुट्टै चहलपहल देखिन्छ । घरका ढोकामा फलामको औंठी वा अन्य सुरक्षात्मक वस्तु राख्ने, घर सफा गर्ने, चोकमा राक्षसको आकृति बनाउने तथा विभिन्न परम्परागत विधि पूरा गर्ने चलन छ । कतिपय स्थानमा बालबालिका र युवाहरू घरघरमा गएर सहयोग वा दान संकलन गर्छन् । 

कतै परम्परागत गीत, बाजागाजा र सांस्कृतिक गतिविधिले उपत्यकाको वातावरणलाई थप जीवन्त र सांस्कृतिक बनाउँछ । यो पर्व मनाउने क्रममा दिनभर तयार गरिएको घण्टाकर्णको प्रतीकात्मक आकृतिलाई साँझतिर टोलवासी मिलेर तानेर दोबाटोसम्म पु¥याउँछन् । त्यसपछि विधिपूर्वक त्यसलाई जलाइन्छ । यसरी जलाइएको घण्टाकर्णको प्रतिक पर्वको निरन्तरताको रुपमा मात्रै रहेको छैन । यसको सांकेतिक अर्थ खराब शक्तिमाथि असल शक्तिको विजयको प्रतीक पनि हो । रोगव्याधि, भूतप्रेत, अशुभ शक्ति र नकारात्मक ऊर्जा घर तथा समाजबाट टाढा जाओस् भन्ने धार्मिक विश्वास पनि यो पर्वसँग जोडिएको छ । गथाँमुगः पर्व मनाउने क्रममा काठमाडौं उपत्यकाका टोल बस्तीहरूमा यसको आफ्नै स्थानीय शैली र परम्परा भेटिन्छ । 

काठमाडौंका पुराना नेवारी टोलदेखि भक्तपुरका ऐतिहासिक बस्ती र ललितपुरका परम्परागत चोकसम्म गथाँमुगःले उपत्यकाको साझा सांस्कृतिक सम्पदालाई जिवित राखेको छ । आजको आधुनिक काठमाडौँमा इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल र व्यस्त जीवनशैलीबीच पनि अमूल्य निधिका रुपमा रहेका यस्ता जात्रा तथा पर्वहरुले निरन्तरता पाइरहेका छन् । त्यसैले हरेक जात्रा वा पर्वजस्तै गथाँमुगःको दिन साँझपख काठमाडौँका नेवारी वस्ती वा चोकमा घण्टाकर्णको आकृति आगोमा जलिरहेको देख्न पाइन्छ । यही कारण सयौँ वर्ष पुरानो यो परम्परा आज पनि काठमाडौं उपत्यकाका गल्ली गल्लीमा उस्तै जीवन्त छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update