News 24 Television
सन्दीप प्रकरणमा नाम जोडिएको भन्दै पारसको आपत्ति, कानूनी उपचार खोज्ने चेतावनी 

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने केही बर्षदेखि बलात्कारको आरोपबाट गुज्रिइरहेका छन् । सन्दीपमाथि ‘स्टार्डम’को आडमा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । 

दुई वर्ष अघि क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका बेला सन्दीपविरुद्ध प्रहरीमा उजुरी परेको थियो । 

तत्कालीन क्रिकेट टोलीका कप्तानसमेत रहेका सन्दीपविरुद्ध पीडित भनिएकी ती युवतीले विदेश उड्नुअघि आफूलाई होटलमा लगेर पटक पटक करणी गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरीमा उजुरी दिएकी थिइन् । 

सामाजिक सञ्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर आफूलाई आफूलाई जबरजस्ती करणी गरेको पीडितले आरोप लगाएकी थिइन् ।  उजुरीमा बालिकाले सोही वर्षको भदौ पाँच गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको एक होटलमा लगेर राखेको उजुरीमा उल्लेख गरेकी थिइन् । उजुरी परेलगत्तै प्रहरीले उनीहरु बसेको होटलबाट सिसिटिभी फुटेज संकलन गरेका थियो । 

उक्त सीसी टिभी फुटेजमा सन्दीप र पीडित भनिएकी युवती करिब ७ घण्टा बसेको देखिएको दावी गरिएको छ । यही मुद्धामा गत वर्षको पुषमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ती भराउनुपर्ने फैसला सुनाएको थियोे। 

जिल्ला अदालत काठमाडौंले पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै उक्त सजायसहित दोषी ठहर गरेको थियो ।  तर ३ महिना बढी थुनामा बसेका सन्दीप २० लाख धरौटी राखेर रिहा भएका थिए । 

थुना बाहिरै रहेका उनले जिल्ला अदालत काठमाडौंको फैसला त्रुटिपूर्ण रहेको र आफू निर्दोष रहेको भन्दै गत फागुन २० मा उच्च अदालतमा पुनरावेदन दर्ता गराए । तर उक्त पुनरावेदनको मुद्धामा अझै फैसला हुन सकेको छैन । सन्दीपको पुनरावलोकन मुद्धाले पटक पटक प्राथमिकता पाएपनि हेर्न नमिल्नेमा पर्दै आएको छ । 

यही आइतबार पनि उच्च अदालतले सन्दीपको मुद्धाको पेसी पहिलो नम्बरमै राखेको थियो। तर अन्त्यमा हेर्न नमिल्नेमा परेको थियो । 

सन्दीपको उक्त मुद्धामा अदालतबाटै भइरहेका गतिविधि र घटनाको पृष्ठमूमिलाई लिएर कतिपयले विभिन्न शंका उपशंका गरिरहेका छन् । यही विषयलाई धेरैजसो पक्षले सन्दीपलाई फसाइएकोसम्म टिप्पणी गरिरहेको छन् । 

नेपाली क्रिकेट इतिहासमै उत्कृष्ठ र अब्बल खेलाडी सावित भएका सन्दीप विरुद्ध क्रिकेट क्षेत्रकै व्यक्तिहरुले षड्यन्त्र गरेको चर्चापछि (क्यान) का सचिव पारस खड्काले आपत्ति जनाएका छन् । 

आफूलाई समेत सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारसले आपत्ति हुन् । 

खासगरी यो विषय टी–२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्ने नेपाली टोलीको विदाइमा सन्दीप उपस्थिति भएको र मंगलबार लेखेको फेसबुक स्टाटसपछि अझ पेचिलो बनेको छ । 

हुन त यसअघि देखि नै सन्दीपलाई फसाइएको भन्ने चर्चा हुने गरेको थियो । तर सन्दीपले गत मंगलबार मात्रै आँफै फेसबुकमा स्टाटस लेख्दै आफूमाथि लागेको आरोपको घटनामा अरुकै हात रहेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसलासमेत त्रुटिपूर्ण रहेको जिकिर गरेका थिए । 

उक्त मुद्धामा आफू दोषी भए फाँसीको भागेदार हुन तयार भएको भन्दै फैसलामा उल्लेख गरिएको ८ बर्ष जेल सजायले नपुग्ने भनेका थिए । उक्त घटनामा आफू निर्दोष भएको भन्दै सन्दीपले यो घटना नभइ कसैले नै गराएको दावी गरेका थिए । यो स्टाटसपछि धेरैजसोले सन्दीपप्रति सहनुभूति प्रकट गरेका छन् । 

यसको केही दिन लगत्तै क्यानका सचिव पारस खड्काले सन्दीपको विषयमा आफूलाई अनावश्यक र तथ्यहीन आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको भन्दै विभिन्न संस्था र व्यक्तिप्रति आपत्ति जनाएका हुन् । तर पारसलाई अधिकांश सामाजिक संजाल प्रयोगकर्ताहरुले सके सन्दीपको न्यायका लागि लड्नु, नसके यस्ता स्टाटस नलेख्नु भन्दै सुझाव दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update