News 24 Television
पारसले कसरी गरे सन्दीपको सेटलमेन्ट ? 

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्नका लागि वेस्ट इन्डिज पुगेका छन् । अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि नेपालमै रोकिएका सन्दीप अन्ततः वेस्ट इन्डिज पुगेका हुन् । सन्दीपबारे चलिरहेका विभिन्न प्रचारका बीच विश्वकप खेल्न जानुलाई पुनः नयाँ कोणबाट बहस गर्न थालिएको छ । 

बलात्कार मुद्दापछि क्रिकेट जीवनबाट आरोह–अवरोह भोगिरहेका सन्दीप लामिछाने अन्तिम समयमा पनि अमेरिका जाने अवसरबाट बञ्चित भए । अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि उनी नेपालमै रोकिन पुगे र त्यसपछि विभिन्न समाचार शीर्षकहरु सार्वजनिक भए । नेपाल क्रिकेट संघको सक्रियता, क्यान पदाधिकारीमाथि लागेका आरोप र धेरै विषयले सन्दीपको नाम समावेश नगरि १५ खेलाडीको नाम आइसीसीलाई बुझाइयो । 

तर, अहिले अन्तिममा सन्दीप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका छन् । सन्दीप वैकल्पिक माध्यमको प्रयोग गर्दै वेस्ट इन्डिज पुगेको बताइएको छ भने क्यानले पनि विज्ञप्ति जारी गर्दै सन्दीप वेस्ट इन्डिज पुगेको खबर सार्वजनिक गरेको छ । सन्दीप त्यहाँ पुगेपनि क्यान पदाधिकारीहरुमाथि आरोप लाग्नेक्रम भने रोकिएको छैन् । क्यानका सचिव पारस खड्काप्रति अनेक समाचार शिर्षकहरु बनेपछि पारसले आक्रोश पोख्दै कानूनी उपचार खोज्ने चेतावनी नै दिएका छन् । आफ्नो आलोचना चुलिएका बेला सन्दीप वेस्ट इन्डिज पुगेपछि भने पारसले पनि लामो सास फेरेका छन् । 

पारसविरुद्ध किन उठ्यो आवाज ?

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रहिसकेका क्यान सचिव पारस खड्काविरुद्ध चर्को आवाज नै उठ्यो । सन्दीपलाई अमेरिका जान नदिने षडयन्त्र पारसले नै गरेको भन्दै अनेक टिप्पणी भए । टिप्पणी यतिमात्रै नभई सन्दीपको नाम खेलाडीको रुपमा नपठाएको विषयदेखि पारसले भर्खरै दर्ता भएका अनलाइनका केहि पत्रकारलाई खेल पत्रकारको रुपमा अमेरिका पठाएको चर्चा समेत उत्तिकै छ । 

लामो समय पत्रकारितामा रहेपनि अमेरिका जानकै लागि नयाँ अनलाइन दर्ता गरिएको र त्यस्तै अनलाइनका पत्रकारलाई अमेरिका पठाउने गरि सूची दूतावासमा बुझाएको आरोप प्रष्ट लागिरहेको छ । यतिमात्रै नभई पारसको हस्ताक्षरसहित दूतावासमा पुगेको पत्रमा सन्दीपको नाम १५ खेलाडीबाहिर हुनु र आइसीसीले दिएको खेलाडीको कोटामा १५ खेलाडी नै हुनुलाई समेत कारण मानिएको छ । तर, अमेरिकी दूतावासले भने भिसा नदिको कारणबारे बोल्न अस्वीकार गरिसकेको छ । यस्तोमा पारसले नै सन्दीपलाई अमेरिका पठाउन नचाहेको लान्छना लागेको बताइन्छ ।  

अबको खेल

वेस्ट इन्डिजमा हुने खेलमा सन्दीपको सहभागिता निश्चित भएको बताइएको छ । यस्तोमा आईसीसीले कसरी मान्यता दियो भन्ने विषय भने रोचक छ । तत्कालीन अवस्थामा क्यान निलम्बनमा परेको बेला नेपालको कप्तानी सम्हालिरहेका पारसले आइसीसीसँग राम्रो सम्बन्ध स्थापित गराउन सफल भए । 

आइसीसीसँगको प्रशासनिकदेखि सबैखाले सम्बन्ध स्थापित गराउन सफल पारसले सन्दीप अमेरिका जान नपाएपछि आफूमाथि लागेको आरोप पखाल्नका लागि पनि भरपुर प्रयत्न गरेर वेस्ट इन्डिज पुग्ने चाँजोपाँजोसहित मैदानमा उत्रिने विषयलाई निश्चित गराएको विश्लेषण छ । सन्दीपलाई मैदानमा उतार्ने निश्चित भएसँगै पारसले सबैखाले षडयन्त्रको कानूनी उपचार खोज्ने चेतावनी दिन थालेका छन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update