काठमाडौं । एन्फा महिला फुटबल लिगको तीन खेल बाँकी हुँदै सुपर लिग खेल्ने पाँच टोलीको टुङ्गो लागेको छ । कोशी प्रदेश र वालिङ नगरपालिकाले बिहीवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आ–आफ्नो खेलमा जित निकाल्दै लिगको दोस्रो चरणमा स्थान बनाएसँगै सुुपर लिग खेल्ने पाँच टोलीको छिनोफानो भएको हो ।
एपिएफ, नेपाल आर्मी, नेपाल पुलिस शीर्ष तीनमा रहेर पहिले नै सुपर लिगमा पुगिसकेका छन् । कोशीले सुदूरपश्चिम प्रदेशलाई चार शुन्य र वालिङले चन्द्रपुर नगरपालिकालाई दुई–एक गोल अन्तरले पराजित गरेको थियो । १० टोली सहभागी लिगमा अंकतालिकाको शिर्ष पाँच टोलीले सुपर लिगको यात्रा तय गरेका हुन् ।
वालिङ चौथो र कोशी पाँचौँ स्थानमा रहने पक्का भएको छ । छैटौँ स्थानमा रहेको बागमती युवा क्लबले एक खेल खेल्न बाँकी छ । तर, कोशीभन्दा बागमती चार अङ्कले पछाडि रहेको छ । वालिङले नौ खेलमा पाँच जित र चार हारसहित १५ अङ्क बनायो । कोशीले चार जित दुई बराबरी र तीन हारसहित १४ अङ्कमा रहेर पहिलो राउन्ड सकायो ।
चन्द्रपुर नौ खेलबाट आठ अङ्कसहित आठौँ स्थान र सुदूरपश्चिम नौ खेल नै गुमाएर अन्तिम स्थानमा रहे । सुदूरपश्चिम भने जितविहीन बन्दै लिगको पुछारमा रहेर यस संस्करणको यात्रा टुङ्गाएको छ । सुदूरपश्चिमले ६९ गोल व्यहोर्दा ३ गोल मात्रै गर्न सफल भयो ।