काठमाडाैँ । नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले देशका लागि इतिहास कायम गर्न पाउँदा धेरै खुशी भएको र आगामी विश्वकपमा थप बलियो भएर तयारी गर्ने बताएकी छन् ।
संयुक्त अरब इमिरेट्समा बुधवार सम्पन्न आइसिसी यु–१९ महिला विश्वकपको एशियाली छनोटमा च्याम्पियन हुँदै नेपालले सन् विश्वकप २०२५ मा मलेसियामा हुने आइसिसी यु–१९ महिला विश्वकपमा स्थान बनाएको छ । यससँगै नेपाली महिला क्रिकेटले पनि पहिलोपल्ट विश्वकपमा स्थान बनाउँदै इतिहास बनाएको हो । बिहीवार स्वदेश फर्कने क्रममा कप्तान पूजाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशको लागि महिला क्रिकेटमा नयाँ इतिहास कायम गर्नु गर्वको क्षणको बताइन् । उनले एशिया कप र विश्वकप खेल्नु नेपाली टोलीको लागि सबैभन्दा ठूलो अवसरको रूपमा पनि रहेको बताएकी छन् ।
एशिया कप र विश्वकपमा अहिलेभन्दा थप बलियो भएर तयारी गर्ने पनि कप्तान पूजाको भनाइ छ । उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा छनोट हुने रहेको र त्यहीअनुरूप सबैले धेरै मिहेनत गरेको बताएकी छन् । राम्रो क्रिकेट खेल्यौं भने विश्वकपमा छनोट हुने सबैको विश्वास रहेको र त्यहीअनुरूपमा युएईविरुद्ध खेल्दा सफलता मिलेको उपकप्तान सोनीको भनाइ छ । उनले यो सफलता प्राप्त गर्नु टोलीको लागि गर्विलो क्षण रहेको सोनीले बताइन् । उनले एसिया कप र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, प्रवक्ता छुम्बि लामा लगायतले नेपाली यु–१९ क्रिकेट टोलीलाई स्वागत गरे । सो अवसरमा राखेप सदस्यसचिव घिसिङले नेपाली महिला क्रिकेट पनि अर्को उचाईमा पुग्न पर्खाइमा रहेको र त्यो सफलता यु–१९ टोलीले दिलाउन सुखद पक्ष रहेको बताए । उनले अब यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप र एसिया कप छनोटका लागि जुन किसिमको तयारी आवश्यक पर्छ त्यसका लागि राखेप तयार रहेको बताए ।
उनले राज्य विश्वकपको तयारीमा लगानी गर्न तत्पर रहेको बताए । साथै सदस्यसचिव घिसिङले राज्यले दिनुपर्ने पुरस्कारका लागि आफ्नै पहलमा कानून नै बनिसकेकाले घोषणा गर्न आवश्यक नै नरहेको प्रस्टाए ।