News 24 Television
दिल्लीमा पनि भाजपाको उदय, कंग्रेस आईको विजोग

काठमाडौं । भारतको दिल्लीमा देखिएको चुनावी नतिजालाई लिएर विभिन्न चर्चा शुरु भएका छन् । २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता कमब्याकको परिदृष्यसँगै १५ वर्षसम्म दिल्लीमा सत्ताराज गरेको कंग्रेस आईको दूर्दशा अनि एक दशकदेखिमैे आम आदमीको चर्चित नेताहरूले बेहोर्नु परेको चुनावी हारले राजनीतिक वृत्त गर्माएको छ । 

भारतको दिल्लीमा आएको चुनावी नतिजाले नेपालमा समेत राम्रै चर्चा पाइरहेको छ । यस पटक दिल्लीको विधानसभाको चुनावी नतिजा भारतीय जनता पार्टीमय बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थप शक्तिमान बनेका छन् भने दिल्लीमा स्थापित आम आदमी पार्टीको धरातल नै डगमगाएको छ । 

आफ्नो केन्द्रीय कार्यालयमा भाजपा दिल्ली विधानसभामा सुविधाजनक बहुमत प्राप्त नतिजाको उत्सव मनाइरहेको छ । प्रधानमन्त्री मोदीको पार्टी अब थप शक्तिशाली भएको र यसले भारतको विकास एवम् सुशासनमा थप बल पुग्ने चर्चा मोदीका समर्थकले गरिरहेका छन् । 

यता, भ्रष्टाचार विरोधी नारा लिएर उदय भएको आम आदमी पार्टीको जनमत क्षयिकरणले पनि उत्तिकै चर्चा पाएको छ । आम आदमी पार्टीका केन्द्रीय संयोजक एवम् दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले समेत हार व्यहोरेपछि नयाँ उदय भएका पार्टीको अस्तित्व कुन समयसम्म कस्तो अनि कति रहने रहेछ त  भन्ने बहस पनि छेडिएको छ । 

विशेषगरि नेपालका पुराना पार्टीहरुका नेताहरुले केजरिवाल र आम आदमी पार्टीको कमजोर चुनावी नतिजालाई नेपालका नयाँ पार्टीहरुतर्फ चलेको ह्वीमसँग तुलना गरेका  छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र यसका सभापति रवि लामिछाने साथै अन्य साना दलहरु अनि यि दलहरुले चलाएको ह्वीम धेरै समय नटिक्ने भन्दै पुराना दलका नेताहरुले कटाक्ष समेत गरिरहेका छन् ।  

केजरीवाललाई हराउने परवेशसिंह वर्मा को हुन् ?

आम आदमी पार्टीका केन्द्रीय संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरबिन्द केजरीवालको पराजय अहिले चर्चामा छ । २०२० को चुनावमा ४६ हजार ७५८ मत पाएका केजरीवालले यसपटक २५ हजार ९२५ मत पाए । 

उनलाई पराजित गर्ने परवेशसिंह वर्माले ३० हजार २४ मत ल्याएर चुनाव जिते । उनको पराजयसँगै केजरीवाललाई हरायो कसले त ? के हो केजरीवाललाई हराउने व्यक्तिको राजनीतिक अनि वैयत्तिक जीवन ? यसबारे चासो राख्न थालिएको छ । 

–    सन् २०१३ मा पहिलोपटक दिल्लीको विधानसभा चुनावमा निर्वाचित व्यक्ति हुन्– परवेश वर्मा  

–    परवेश वर्माले सन् २०१३ मा मेर्हौली सिटमा दिल्ली विधानसभाका अध्यक्ष रहेका कंग्रेस उम्मेदवार योगनन्द शास्त्रीलाई हराए

–    उनी २०१४ मा विधानसभा छाडेर लोकसभा चुनाव लडे र विजयी भए 

–    लोकसभामा उनले विभिन्न समितिमा सदस्य रहेर काम गरे 

–    सन् २०१९ को लोकसभा चुनावमा उनले दिल्लीमा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवारको रेकर्ड बनाए 

–    त्यस समय उनले कांग्रेसका महाबल मिश्रलाई ५ लाख ७८ हजार ४८६ मतले पराजित गरे 

–    भाजपाको रणनीति अनुसार नै उनी यस पटक लोकसभा छाडेर विधानसभामा चुनावमा उत्रे


परवेशसिंह वर्माको पारिवारिक पृष्ठभूमि

–    परवेशसिंह वर्मा प्रभावशाली राजनीतिक घराना पृष्ठभूमिका हुन् 
–    उनका बुवा साहिब सिंह वर्मा भाजपाका वरिष्ठमध्येका नेता हुन् भने दिल्लीका पूर्वमुख्यमन्त्री पनि हुन् । 

–    उनका काका अजद सिंह उत्तरी दिल्लीका मेयर थिए भने २०१३ मै दिल्ली विधानसभाको चुनाव पनि लडेका थिए ।

परवेशसिंह र केजरीवालको पुरानै लडाई 

–    आम आदमीका केन्द्रीय संयोजक अरविन्द केजरीवालविरूद्ध परवेशको पुरानै राजनीतिक लडाई छ । 

–    कुनै समय केजरीवाललाई परवेशले ’आतंककारी’ भन्ने गर्थे 

–    सन् २०२० को विधानसभा चुनाव प्रचारको क्रममा वर्माले 

केजरीवाललाई ‘आतंककारी’ भनेपछि त्यतिबेला निर्वाचन आयोगले उनलाई २४ घन्टाका लागि प्रतिबन्ध लगाएको थियो ।   

परवेशसिंह दिल्लीका भावि मुख्यमन्त्री !

यस पटक केजरीवाललाई पराजित गरेपछि दिल्लीको भावी मुख्यमन्त्रीका रूपमा वर्मालाई हेरिएको छ । प्रभावशाली राजनीति पृष्ठभूमी र पूर्वमुख्यमन्त्रीलाई नै पराजित गरेका कारण अबको मुख्यमन्त्रीमा उनको दाबी बलियो हुने बताइएको छ । 

उत्सव मनाउँदै भाजपा 

भाजपाका परवेशसिंहको विजयका साथै दिल्लीमा भाजपाको बलियो चुनावी सफलताको उत्सव प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अन्य नेताहरुले मनाइरहेका छन् । २७ वर्षपछि दिल्लीको सत्तामा भाजपाको कमब्याकले भाजपामा खुशियाली छाएको छ । नेताहरु शुभकामना एवम् बधाई आदान प्रदानमा व्यस्त देखिएका छन् । 

कंग्रेस आईको दयनीय अवस्था 

भारतको राजधानी नयाँ दिल्लीमा हालसम्म सबैभन्दा बढी शासन सत्ता सम्हालेको दल हो कंग्रेस आई । तर अहिले कंग्रेसलाई दिल्लीका जनताले पूर्णतयाः बिर्सिएका छन् । 

दिल्लीमा १५ वर्षसम्म लगातार सरकार चलाएको कंग्रेस आई पार्टीलाई यस पटक दिल्ली विधानसभा चुनावमा जनताले एक सिट पनि जितेन दिल्लीमा सन् २०२० मा सम्पन्न विधानसभा चुनावमा पनि कांग्रेसको अवस्था दयनीय नै देखिएको थियो । 

उक्त निर्वाचनमा कांग्रेसको मत ४.२६ प्रतिशत थियो । सन् २०१५ मा कांग्रेसले सबै ७० सिटमा प्रतिष्पर्धा गरेको थियो । तर, एक सिट पनि जित्न सकेको थिएन । तत्कालीन समयमा पनि कांगेसको मत प्रतिशत ९.७ थियो । 

कांग्रेसले केही समयअघि सम्पन्न लोकसभा चुनावमा देशभर राम्रो मतका साथ भाजपालाई कडा टक्कर दिएको थियो । तर, दिल्लीका सात सिटमा भने पराजय भोग्नु परेको थियो । लोकसभा चुनावमा दिल्लीका १८ प्रतिशत जनताले कांग्रेसमाथि भरोसा गरेर मत दिएका थिए । जसको फाइदा कांग्रेसले दिल्लीको विधानसभा चुनावमा लिन सकेन ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update