
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुन लागेको चलचित्रको इन्डोर छायांकन स्टुडियो निर्माणको घोषणा गरेका छन् ।
मंगलवार प्रधानमन्त्री निवासमा आयोजित समारोहबाट प्रधानमन्त्री ओलीले सिनेपाः स्टुडियो आरम्भ भएको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको घोषणालाई नेपाली चलचित्र क्षेत्रको युग परिवर्तनको रुपमा लिन मिल्ने समेत भनेका छन् ।
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइका कारण आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार भने प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र कलााकारसँग समय विताए ।
प्रधानमन्त्री ओलीबाट बनेपामा अत्याधुनिक चलचित्र स्टुडियो निर्माणको घोषणा हुने भएपछि कलाकारहरुको समुह बालुवाटार पुगेको थियो ।
सोही समारोहमा प्रधानमन्त्री ओलीले सिनेपा नामको चलचित्र स्टुडियो निर्मााणको घोषणा गरे । नेपालमा चलचित्र निर्माण हुन थालेको ६ दशक वितिसक्दा पनि इन्डोर स्टुडियो नहुँदा चलचित्र निर्माणका लागि समस्या हुँदै आएको छ ।
यसअघि दोलखामा इन्डोर स्टुडियो बनाउने घोषणा भएपनि स्टुडियो निर्माणको काम यत्तिकै थन्किएको थियो । तर यसपटक भने स्टुडियो निर्माण गरेरै छोड्ने उद्घोष प्रधानमन्त्री ओलीले गरेका छन् ।
स्टुडियो निर्माणको घोषणालाई उनले नेपाली चलचित्र क्षेत्रको युग परिवर्तनको रुपमा लिन मिल्ने बताएका छन् । स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहमा बोल्दै प्रधानन्त्री ओलीले चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको र त्यसको छानविन हुने दाबी गरे ।
प्रधानमन्त्री ओलीले बनेपामा बन्ने स्टुडियोमा डविङ र गायन स्टुडियोलाई पनि समावेश गर्न सुझाव दिएका छन् । वनेपा नगरपालिकाको १० र १३ वडामा निर्माण हुन लागेको स्टुडियो ४२ रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
स्टुडियो निर्माणका लागि सञ्चार मन्त्रालय अन्तर्गत चलचित्र विकास बोर्डले गत माघमा बोलपत्र आह्वान गरि बैशाखमा ठेक्का स्वीकृत गराएको थियो ।
यू एन्ड एस–एनएस–रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले स्टुडियो निर्माणको ठेक्का पाएको छ । आधुनिक छायांकन प्रविधि र सुविधासहितको स्टुडियोको लागत ३९ करोड रूपैयाँ रहेको छ ।
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रका लागि लामो समयपछि सुविधासम्पन्न स्टुडियो बनाउन लागेको उल्लेख गर्दै सरकारले पूर्ण तरहले सघाउने बताए ।
स्टुडियो निर्माण घोषणालाई सकरात्मक भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सकारात्मक सोच राखेमा जुनसुकै कुरा पनि सम्भव भएको बताए । आगामी सातादेखि रियल टाइम बक्सअफिसको सुरुवात हुने जानकारी दिदै उनले फिल्म ऐनका काम अघि बढेको बताए ।